Smart City

डियर काठमाण्डौ बासी !

डियर काठमाण्डौ बासी !
तिमी यस्तो  ठाउँमा कसरी बस्न सक्छौ?
 
भर्खरै मात्र म तिम्रो शहर भित्रिए, तिम्रो शहर देखेर मलाई भुपी शेरचनको कविता याद आयो !
सायद ८० प्रतिशत भन्दा बढि काठमाण्डौ बासिले भुपिलाई चिनेका सकेका पनि छैनन् होला तर करिब ३० वर्ष आगाडी नै उनले काठमाण्डौलाई नै देखेर यो कविता रचेका थिए।
साँघुरो गल्लीमा मेरो चोक छ
यहाँ के छैन? सबथोक छ
असङ्ख्य रोग छ,
केवल हर्ष छैन,
यहा त्यसमाथि रोक छ
साँघुरो गल्लीमा मेरो चोक छ
यहाँ के छैन? सबथोक छ
यो मेरो चोकमा
देवताले बनाएका मानिस र
मानिसले बनाएका देवता,
यी दुबैथरीको निवास छ
तर यहाँ यी दुवैथरी उदास छन्
दुवैथरी निरास छन्
मानिस उदास छन्
किनकी तिनलाइ यहाँ
रात रातभरी उपियाँले टोक्छ
दिन दिनभरी रुपियाँले टोक्छ
र देवता उदास छन्
किनकी तिनलाइ यहाँ
न कसैले पुज्छ न कसैले ढोग्छ
त्यसैले यो चोकमा
देवता र मानिसले
एक अर्कालाई धिक्कार्दै
एकसाथ पुर्पुरो ठोक्छन्
साँघुरो गल्लीमा मेरो चोक छ
यहाँ के छैन? सबथोक छ (कविता : मेरो चोक)
सायद यो कविताले तिमिलाई सबथोक बुझायो पनि होला ! तिम्रो काठमाण्डौ ३० वर्ष देखी उस्तै नै छ। केहि आधुनिक त भयौ होला, केहि हजार नयाँ गाडी छिरे होलान, केहि हजार नयाँ बिल्डिङ ठडिएहोलान्, केहि नयाँ मल-सिनेप्लेक्स बने होलान् तर तिम्रो शहरको नयाँपनमा कुनै सुवास छैन। तिम्रो नयाँपनले सुवास भन्दा नि दुर्गन्ध पालेको छ।
 
सायद तिमी मलाई भन्ने छौ, “हाम्रो काठमान्डौ संसारको राम्रो ठाँउ थियो तिमी जस्तै बाहिरिया आएर बिग्रियो” । त्यो त असफलहरुको बहानामात्र हो। संसारका कुन शहरमा बाहिरीयाहरू बसेका छैनन् र ? तैपनि तिनिहरु संसारकै सफा र सभ्य शहर भनि कहलिएका छन् क्यारे। तिमी कमजोर हुनाले यो शहर यस्तो भएको हो। तिमी मुक्दर्शक हुनाले तिमीले तिम्रो घर बिगार्यौ। जति पनि शासक आए, विगार गर्ने नै आए तैपनि तिमी चुप बस्यौ। तिमीले धेरै राजनितीक आन्दोलनहरु गर्यौ, यहि भुमिबाट ति परिवर्तनहरु सफल पनि पार्यौ, तर तिमीले सामाजिक क्रान्ति कहिल्यै गर्न सकेनौ। आजसम्म पनि सामाजिक क्रान्ति त तिमीले आवश्यक नै ठानेनौ । यदि आवश्यक ठानेको भए, तिमै अगाडी तिमीले चुनेर पठाएका शासकले लुट्दा तिमी गर्जिन्थ्यौ होला। तिम्रो शहर बनाउने भनेर तलब खाएका कर्मचारी केहि नगरी बस्दा तिमीले प्रश्न गर्थौ होला । तर तिमीले यो आवश्यक ठानेनौ, किनकी तिम्रो अरुलाई दोष दिएर आफु चोखिने बानी नै भईसकेको छ।
 
तिमीले आन्दोलन गरेर ल्यएका परिवर्तनले अधिकार पनि दिएका छन् भन्ने थाहा छैन र ? यदि थाहा छ भने चुनावको हक, सुचनाको हक जस्ता शक्तिशाली कानुनको खै त उपयोग गर्न सकेको? राजा त फाल्यौ तर गुलाम मानसिक्ता अझै गएको छैन तिम्रो दिमाग बाट। यस्को दृष्टान्त त,भर्खरै गएको स्थानिय चुनाबमा तिमीले चुनेका जनप्रतिनिधि हुन्। दुई दशक पछि आएको यस्तो ऐतिहासिक अवसर पनि तिमीले सदुपयोग गर्न सकेनौ। मलाई लाग्छ अब अझै पाँच बर्ष तिमी आफू बाहेक सबैलाई गुनासो नै गर्दै बस्ने छौ फेरी तिम्रो भूमिका आउँदा तिमी पुरानैलाई चुन्ने छौ।
 
तिम्रो शहरमा घर धेरै बनेका होईनन् घर अब्यवस्थित बनेका हुन्, गाडी धेरै भएका होईनन् बाटो कम भएका हुन्।तिमीले बुझ्न जरुरी छ तिम्रो शहर फोहर भएको होईन, फोहर व्यवस्थापन नभएको हो। काठमाण्डौ भन्दा धेरै ठुला शहरका बाटाहरु फोहर रहित, ट्राफिक जाम रहित सुन्दर सफा छन्। तिमी त विदेश घुमिराख्छौ, देख्यौ पनि होला, शहर कस्तो हुन्छ र कसरी त्यस्ता शहरहरु बन्छन् वुझ्यौ पनि होला ।
 
डियर राजधानिबासी,
यदि अब दश बर्षमा काठमाण्डौलाई सुन्दर ठाउँ बनाउने हो भने तिमी नै जागरुक हुनु पर्छ। तिम्रो घर भत्काएर सडक चौडा बनाउनु भन्दा बागमती,विष्णुमती, मनोहरा कोरिडोरमा चारलेनको सडक बनाए ट्राफिक जाम हुने थिएन। खै त तिमीले यो माग गर्न सकेको? तिम्रो र तिम्रो सन्तानको शारिरीक मानसिक बिकासकोलाई कमसेकम वडामा एउटा खेल मैदान हुन पर्ने खै त यस्को बारेमा सोचेको?
 
ठुला ठुला मेट्रो रेलको कुरा त समय लाग्ने कुरा हो, कुरा गर्दा गर्दै बन्न पनि सक्छ नबन्न पनि सक्छ । नेपालमा त नबन्ने सम्भावना ज्यादा हुन्छ। अहिले तत्काल राहतको लागी काठमाण्डौले भइरहेका सडक कनेक्सन राम्रो बनाउन पर्छ। खाल्डा खुल्डि रहित चिल्लो बाटो, व्यस्थित पार्किङ, नदिमा कोरिडोर कनेक्सन भए ट्राफिक जाम कम हुने थिए। साना गाडी हटाएर साझा बस जस्तो ठुलो गाडी हिडाउनु पर्छ। साँचैनै काठमाण्डौबाट हिमाल ,पहाड ,निलो आकाश देखीने  धुवा  रहित शहर बनाउने हो भने अबको दश बर्ष भित्र सबै ईलेक्ट्रिक गाडीमा जानु पर्छ। आजकल त राम्रो राम्रो ईलेक्ट्रिक गाडिहरु बनि सके, टेस्ला, फ्याराडे ब्राण्डका स्मार्ट ईलेक्ट्रिक गाडिहरु काठमाण्डौमा चल्नु पर्छ। हास्यास्पद कुरो त, तिमीले जति पैसा कमाए पनि के गर्ने अहिलेको सडक पुर्वाधारमा स्मार्ट गाडीहरु चल्न सक्दैनन्। यदि चलाए पनि त्यस्को पुर्ण फिचरहरु चलाउन पाईदैन्। त्यसैले तिमी फेरी पनि पैसा भएको गरिब हुन भन्दा आफ्नो शहरको पुर्वाधार बनाउने तर्फ लाग।
 
तिमीलाई लेख्न मन लागेका कुरा त धेरै छन्, लेख्दै जाँदा किताबै बन्छ जस्तो लाग्छ। त्यसैले म  छोट्याएर एउटै कुरा भन्छु। अब काठमाण्डौ सुचक स्थिति (Alarming state) पुगिसक्यो, अब पनि केहि गरेनौ भने यो बस्न लायक ठाँउ रहदैन। खतम हुन अगाडी तिमी जाग्न जरुरी छ। तिम्रो ठाँऊ बनाउने तिमीलेनै हो भन्ने बुझ्न जरुरी छ। तिमी उठ,जाग र सुन्दर काठमाण्डौलाई फेरी पुन:स्थापना गर।
तिम्रो शुभचिन्तक
काठमाण्डौ बाहिर बासी ।

 

Prakash Acharya is an entrepreneur from Nepal, passionately working to substitute fossil fuels with clean energy technologies. He co-founds Mukti Energy, a solar energy company providing a one-stop solution in the sector. He is also a big believer in change so he advocates and works for creating impact in society. His topics of interest spans from sustainability, zero energy, poverty reduction, sociology to smart city. He graduated from Institute of Engineering, Thapathali Campus on Industrial engineering. He is also a former assistant lecturer in IOE, Thapathali . Prakash is a fellow for Social Entrepreneurship Outreach Program 2014, Social Entrepreneurship Forum Sweden.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

FOLLOW @ INSTAGRAM